आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल तथा आँधीखोला कृषि उद्यम सहकारी संस्थाको संयुक्त आयोजनामा स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका वडा नं. ६ मा प्राङ्गारिक कृषि उपजको प्रमाणिकरणका लागि २४ जना कृषकहरुलाई ३ दिने सहभागितामुलक गुणस्तर नियन्त्रण प्रणाली (पिजिएस) सम्बन्धी तालिम दिईएको छ ।
त्रिकोण डेनमार्कको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका र आँधीखोला गाउपालिकामा सञ्चालित प्राङ्गारिक उन्मुख कृषि बाली प्रबर्धन आयोजनामा आबद्ध भएका मध्ये प्राङ्गारिक प्रमाणिकरणका लागि आँधीखोला -६ फापरथुमबाट छनौटमा परेका व्यबसायिक कृषकहरुलाई प्राङगारीक कृषि उपजको उत्पादन, प्रमाणिकरण, प्रसोधन, लेबलिङ, ब्रान्डिङ गरी स्वच्छ बजारीकरण मार्फत दीगो आय–आर्जन साथै जीबिकोपार्जनमा टेवा पु¥याउने लक्षका साथ उक्त तालिम दिईएको हो ।
तालिममा सहभागीहरुलाई प्राङ्गारीक कृषिको अवधारणा, महत्व र नेपालमा यसको अवस्था, प्राङ्गारीक प्रमाणीकरणको परिचय, महत्व र बिधिहरु, स्याङ्जा पिजिएसको कार्यबिधि, कृषि उपज प्रमाणीकरणका मापदण्ड, आचारसंहिता, पिजिएसको संरचना, प्राविधिक, निरिक्षकको भूमिका, फार्म अवलोकन, उत्पादित कृषि उपजको ग्रेडिङ, प्याकेजिङ, लेबलीङ र बजारीकरण, कृषि बिमा, कृषि फार्म दर्ता लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।
२०७९ श्रावण २३ गतेदेखि ३ दिन सम्म सञ्चालन भएको उक्त तालिममा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेल कार्यक्रम प्रमुख हरीप्रसाद ढकाल साथै आँधीखोला कृषि उद्यम सहकारी संस्थाका व्यवस्थापक यदुप्रसाद पौडेल र सचिव तथा पिजिएस सहजकर्ता रबिन पौडेलले सहजीकरण गर्नुभएको थियो ।
आज २५ गते तालिमको समापनका क्रममा बोल्दै प्रमुख अतिथी आँधीखोला गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष नबिन ढकालले रासायनिक मल र बिषादीले आक्रान्त बनेको हाम्रो समाजमा प्राङ्गारिक उत्पादन र स्वच्छ भान्छा अभियानलाई तालिमले सहयोग पुर्याएको साथै प्राङ्गारिक कृषि उपजको प्रमाणीकरण गरी बजार लैजाने सन्दर्भमा वडा तहबाट पूर्ण सहयोग रहने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
समापन सत्रमा स्थानीय समाजसेवी शिव प्रसाद ढकाल, सहजकर्ता रबिन पौडेल साथै सहभागिहरु दुर्गाससुबेदी, राधा ढकाल, प्रमिला ढकाल, दुर्गा कुमारी ढकाल लगायतले प्राङ्गारिक कृषिको महत्व र भावि कार्यदिशाबारे मन्तव्य राख्नुभएको थियो । संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रमको सञ्चालन व्यवस्थापक यदु प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।