स्याङ्जा २५ मंसिर २०७९
हरी प्रसाद ढकाल (कार्यक्रम विकास निर्देशक)
पुतलीबजार नगरपालिका स्याङ्जामा रहेका २९३ जना सीमान्तकृत र विपन्न महिला घरपरिवारहरूको लागि अस्थायी आधारभूत आम्दानीको लागि गाउँमा सामाजिक परिचालनको गुणस्तरमा सुधार गर्ने, गरिब र सिमान्तकृत परिवार र कोभिड १९ बाट प्रभावित महिलाको ज्ञान र सीपलाई अभिवृद्धि गरी कम मूल्य अनुदानमा दिगो जीविकोपार्जनका लागि राम्रो विकल्पहरू छनौट गर्न सक्रिय रूपमा सहभागी गराउने र कार्यक्रमको सफल सिकाइको दस्तावेजीकरण गरी अन्य क्षेत्रमा प्रसारको लागि मार्गनिर्देशन तयार गर्ने उद्देश्यका साथ युएनडिपी र पुतलीबजारको सहयोग तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहजीकरणमा पुतलीबजार नगरपालिकामा बिगत १ बर्षदेखि सञ्चालन भैरहेको संबोधन परियोजनाको बार्षिक समिक्षा पुतलीबजारमा सम्पन्न भएको छ ।
समिक्षाका क्रममा बोल्दै पुतलीबजार नगरपालिकाको मेयर तुलसीराम रेग्मीले परियोजनाको माध्यमबाट कोभिड १९ का कारण अति समस्यामा परेका पुतलीबजार नगर क्षेत्रमा बसोबास गर्ने अतिबिपन्न महिला घरपरिवारहरुलाई नगदै सहयोग गरेर उनीहरुको तत्कालको आवस्यकता पूर्ति गरिनुका साथै परनिर्भरता हटाउनका लागि जीविकोपार्जनमा जोडदिएकोमा आभार व्यक्त गर्दै कार्यक्रम निकै फलदायी र उपलब्धीमुलक भएकोमा प्रशंसा व्यक्त गर्नुभयो । परियोजनाबाट छनौटमा परेका र आयआर्जनमा सहभागि हुन चाहेका नागरिकलाई नगरपालिकाले सीपमा आधारित व्यवसायको लागि क्षमता विकास एवं आर्थिक सहयोग र त्यस्ता बिपन्न बर्गलाई स्वास्थ्य बिमा कार्यक्रममा समेत जोडेर लगिरहेको बताउदै कार्यक्रम निरन्तरता र विस्तारको लागि युएनडिपीलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, वडा नं. २ का वडा अध्यक्ष भीम बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद आचार्य, प्रशासन योजना तथा अनुगमन अधिकृत ताराचन्द्र ढकाल, लेखा प्रमुख भोजराज ढकाल, वातावरण विपद् तथा सरसफाई शाखा प्रमुख धन प्रसाद कोईराला, लेखा अधिकृत मणी राना, सुचना अधिकृत मुक्त गुरुङ, राजश्व शाखाका सिर्जना लामिछाने लगायतले समेत आआफ्ना भनाई एवं सुझावहरु राख्नुभएको थियो ।
कार्यक्रममा आस्क नेपालका कार्यक्रम तथा साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने युएनडिपिका संबोधन कार्यक्रम संयोजक सतिस पाण्डेले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो । यस्तै पुतलीबजारमा रहेका विपन्न नागरिकहरुको अभिलेखीकरणका लागि युएनडिपीबाट तयार गरिएको SEVIMS सफ्टवेयको प्रयोग सम्बन्धी सहजीकरण सन्दीप भट्टले गर्नु भएको थियो ।
पुतलिबजार नगरपालिकाकाका निर्वाचित प्रतिनीधि, १४ वटै वडाका वडा अध्यक्षहरु, नगरपालिकाका प्रशासकीय अधिकृत लगायत विभिन्न विषयगत शाखाका प्रमुख एवं कर्मचारीहरुको समेत उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले र सञ्चालन फिल्ड संयोजक हेमराज पौडेलले गर्नुभएको थियो ।