+977 063424692 || +9779856050507 ask_syangja@yahoo.com

पर्वत, १० श्रावण २०८१

युएसएआईडी जल जङ्गलको सहयोगमा स्याङ्जा, पर्वत र कास्की जिल्लाको पञ्चासे क्षेत्रमा सञ्चालन हुन लागेको जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार परियोजनाको शुभारम्भ कार्यशाला आज पर्वतमा सम्पन्न भएको छ ।

कुस्मा नगरपालिका तथा मोदी गाउँपालिका साथै पर्वत जिल्लाका सरोकारवालहरूलाई युएसएआईडी जल जङ्गल कार्यक्रमको सहयोगबारे स्पष्ट गर्ने, आस्क नेपालद्वारा सञ्चालन गर्न लागिएको परियोजनाका क्रियाकलापको जानकारी गराउने, कार्यक्रम स्थान तथा क्षेत्रबारे स्पष्ट पार्ने, कार्यक्रमको विधि तथा प्रक्रिया साथै समन्वयकारी भूमिका बारे समेत छलफल गर्ने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न लागिएको हो ।

शुभारम्भ कार्यशालामा बोल्दै प्रमुख अतिथि कुस्मा नगरपालिका पर्वतका नगरप्रमुख रामचन्द्र जोशीले बदलिँदो जलवायु परिवर्तनले वन तथा वातावरणलाई नकारात्मक असर पारेको, मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र पञ्चासे क्षेत्रका गाउँबाट बसाइसराइ अत्यधिक रूपमा वृद्धि भइरहेको अवस्थामा जल जङ्गल परियोजनाले सम्बोधन गर्नेमा विश्वस्त रहँदै परियोजनाका उद्देश्य प्राप्तिका लागि पालिकाबाट आर्थिक, नैतिक र भौतिक लगायतका सहयोगका लागि कुनै कसुर नराखिने बताउनु भयो ।

यस्तै कार्यशालामा विशेष अतिथि मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले कार्यक्रमलाई सचेतना सँगसँगै उद्यममा जोडेर लैजान सके गाउँमै उद्यमीको विकास हुने, जग्गा जमिन पनि नबाँझिने र गाउँमै स्वरोजगार समेत बढ्ने हुँदा सो तर्फ केन्द्रित गर्न अनुरोध गर्दै आफूले पालिकाको तर्फबाट समन्वयात्मक ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त       गर्नुभयो । सोही क्रममा परियोजना सञ्चालन गर्ने स्थानीय साझेदार संस्था आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्माले संस्थाका विगतका गतिविधिबारे चर्चा गर्दै यो परियोजनाले जलवायु परिवर्तन अनुकूलनका लागि जीविकोपार्जनका अवयवहरूलाई जोडिएकोले फलदायी बनाउन सबै पक्षको सहयोग रहने र एकीकृत रूपमा कार्यक्रम सञ्चालन गर्दा जलवायु परिवर्तनका कारण जोखिममा परेका पञ्चासे क्षेत्रका नागरिकले अनुकूलनको क्षमता बढाउन सहयोग पुग्ने समेत अपेक्षा गर्नुभयो ।

आस्क नेपालका कार्यक्रम तथा साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले युएसएआईडी जल जङ्गल कार्यक्रम तथा कार्यक्रम संयोजक रेसम कार्कीले परियोजनाले आगामी ५ महिनामा सञ्चालन गरिने परियोजनाका गतिविधिबारे प्रस्ट पार्नुभएको उक्त कार्यशालामा कुस्मा नगरपालिका तथा मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,  वडा अध्यक्षहरू, पञ्चासे संरक्षित वन मूल परिषद् साथै जिल्ला इकाई पर्वतका अध्यक्ष एवं प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता महासङ्घ पर्वतका अध्यक्ष एवं प्रतिनिधिहरू साथै पर्वत पञ्चासे क्षेत्रका सामुदायिक वनका सदस्य लगायत १७ जनाले कार्यक्रमलाई प्रभावकारी बनाउने सन्दर्भमा आआफ्नो राय तथा सुझाव राखेका थिए । 

युएसएआईडी जल जङ्गल कार्यक्रमका लागि स्थानीय साझेदार संस्था आपसी सहयोग केन्द्र नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त परियोजना शुभारम्भ कार्यशालामा स्वागत फिल्ड अधिकृत सुसन तिवारीले र सञ्चालन साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले गर्नुभएको थियो ।

कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी ज्यू कार्यक्रममा आफ्नो मन्तव्य राख्दै
मोदी गाउँपालिकाका अध्यक्ष श्री हिरादेवी शर्मा ज्यू  कार्यक्रममा आफ्नो मन्तव्य राख्दै
कार्यशालामा संस्थागत गतिविधि प्रस्तुत गर्दै आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्मा
युएसएआईडी जल जङ्गल कार्यक्रमको कार्यपत्र प्रस्तुत गर्दै आस्क नेपालका कार्यक्रम प्रमुख हरीप्रसाद ढकाल
सञ्चालन हुने गतिविधि बारे जानकारी प्रस्तुत गर्दै आस्क नेपालका कार्यक्रम संयोजक रेसम कार्की
कार्यशालाका सहभागीहरू